पश्चिम तराईमा अझै केही दिन गर्मी हुने

सुदूर प्रेस संवाददाता

धनगढी–  देशको पूर्वी भेगमा मौसम बदली भएको छ । स्थानीय वायुको प्रभावको कारण मौसम बदली भएको र पूर्वको तापक्रम केही घट्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद वरुण पौडेलका अनुसार मध्य र पश्चिम तराईमा भने अझै केही दिन गर्मी बढ्ने सम्भावना छ । पूर्वी क्षेत्रमा देखिएको बदली मध्य र पश्चिमसम्म पुग्दा गर्मी बिस्तारै घट्दै जाने उहाँको भनाइ छ । तत्काल मनसुन भित्रिने सम्भावना नदेखिए पनि अब मनसुनी गतिबिधि बढ्न सक्ने उहाँले बताउनुभयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही ठाउँमा पनि हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ । ठूलो पानी नपर्दा र मनसुनी गतिबिधि सुरु नहुँदा देशैभर गर्मी बढेको छ । हिमाली भेगमा समेत गर्मी बढ्दा जनजीवन कष्टकर बनेको छ ।

हिजो देशका विभिन्न २२ ठाउँमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ । तराईका विभिन्न ठाउँमा केही दिनदेखि नै तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । निरन्तर तापक्रम बढ्ने, घाम चर्कने हुँदा जनजीवन असहज बन्दै गएको छ ।

तातो हावाबाट बच्न घरभित्र अर्थात चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपी लगाउन, नियमित पानी तथा जुस, सर्वत प्रशस्त मात्रामा पिउन विज्ञले आग्रह गर्दै आएका छन् । 

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमानः–

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

 हाल मौसमको अवस्था (Present Weather Status)

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ।

 २०८० जेठ २७ गते (शनिबार)

दिउँसो: कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीकोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

२०८० जेठ २८ गते (आइतबार)

दिउँसोकोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: कोशी र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

२०८० जेठ २९ गते (सोमबार)

दिउँसोकोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: कोशी र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका साथै बागमती प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ( Warning / Advisory for next 24 hours)

देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ जसका कारण सो भू-भागहरूमा तातो हावा / लू (Heat Wave)  चलिरहने देखिन्छ। साथै कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ  । तसर्थ, अत्याधिक गर्मी तथा मेघ-गर्जन/चट्याङ्ग बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रकाशित:
2023/06/10, 8:00