भारतले धौलीगङ्गाको बाँध खोल्ने, महाकाली नदी आसपास बस्नेलाई सुरक्षित ठाउँमा बस्न आग्रह

सुदूर प्रेस संवाददाता

दार्चुला - भारतको धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँधका ढोका खोल्न लागिएकाले महाकाली नदी किनारमा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँधका ढोका भोलि १५ घण्टाको लागि खोल्न लागिएको छ । यो परियोजनाकाे बाँधका ढोका खोल्दा महाकाली नदीमा बाढी आउँछ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना निकालेर महाकाली नदी किनारमा बसोबास गर्नेलाई सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न तथा नदी छेउछाउ नजान आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप सिंह धामीका अनुसार धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँधका ढोका भोलि बिहान ५ बजेदेखि राति ८ बजेसम्म खोलिने जानकारी आएको छ । यो अवधि र त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरिएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाइराख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।  भारतले सफाइको कामका लागि भन्दै परियोजनाकाे बाँधका ढोका खोल्न लागेको जानकारी पठाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध बर्खाका बेला हरेक वर्ष खोल्ने गरेको छ । २०७० साल असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो ।

 

प्रकाशित:
2023/07/10, 7:25