नवलपरासी, चितवन आसपासमा भीषण वर्षा

सुदूर प्रेस संवाददाता

नवलपरासी–नवलपरासी, चितवन आसपासमा ठूलो पानी परेसँगै नारायणी नदीमा जलसतहले खतराको तह पार गरेको छ । नवलपरासीको डण्डा र दुम्कौली आसपासका क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

नवलपरासीमा पछिल्लो ६ घण्टामा एक सय ६० मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै कावासोती र गिरिउवारी क्षेत्र आसपासका खोलामा पनि बाढी आउन सक्ने सम्भावना छ ।

गएराति मध्यम वर्षा भएको काठमाण्डौ उपत्यकामा बिहान पानी पर्नेक्रम रोकिएको छ । आज दिउँसो पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

सबै प्रदेशहरूका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।

अहिले कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भागमा र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव छ । देशको पश्चिमी भागमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित:
2025/06/17, 8:40