सुत्केरी भाउजुको हत्यामा संलग्न देवर सार्वजनिक

सुदूर प्रेस संवाददाता

धनगढी–  कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा भाउजुको हत्या गरेको अभियोगमा पक्राउ परेका देवरलाई प्रहरीले सार्वजनिक गरेको छ । 

इलाका प्रहरी कार्यालय मालाखेतीले घटना अनुसन्धान गरी दोषी पहिचान गरेपछि २० वर्षीया सुत्केरी तुलसी नाथको हत्यामा संलग्न देवर नवीन नाथलाई आइतबार सार्वजनिक गरिएको हो । गत शुक्रबार बिहान आफ्नै घर अगाडिको नालामा मृत फेला परेकी तुलसीको मृत्यु रहस्यमय बनेको थियो । अनुसन्धानपछि सुतिरहेको अवस्थामा राति १२ बजेतिर तुलसीको नाक, मुख र घाटी च्यापेर हत्या गरेको खुलेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दले जानकारी दिए ।

Ad Dhangadi

प्रहरीका अनुसार हत्यापश्चात् नवीनले सुनका गरगहना निकालेर शव नालामा फालेका थिए । ती गरगहना घर नजिकै ढुंगामुनि लुकाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतक तुलसीले हत्या हुनुभन्दा १६ दिनअघि मात्रै छोरा जन्माएकी थिइन् । शिशुलाई कुनै क्षति नपुगेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेका छन् । घरमा कोही नभएको अवस्थामा तुलसीको हत्या भएको थियो । प्रहरीका अनुसार नवीन नाथविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बालनरसिंह राणाले घटनाको सफल अनुसन्धान गरेबापत इलाका प्रहरी कार्यालय मालाखेतीको अनुसन्धान टोलीलाई भोलि पुरस्कृत गरिने घोषणा गरेका छन् । 'घटना निकै जटिल र संवेदनशील थियो । तर डीएसपी रणबहादुर चन्दको कमान्डमा खटिएको ९ जनाको टोलीले उत्कृष्ट अनुसन्धान गरेर दोषी पहिचान गर्न सफल भएको छ,' एसपी राणाले भने, 'यस अनुसन्धान टोलीलाई हामी पुरस्कृत गर्ने छौं ।'

प्रकाशित:
2025/06/23, 7:01