१५ दिनभित्र छाउपडी गोठ भत्काउन कृष्णपुर नगरपालिकाको निर्देशन,अवज्ञा गरे १० हजार जरिवाना

सुदूर प्रेस संवाददाता

कञ्चनपुर — कृष्णपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्र अझै अस्तित्वमा रहेका छाउपडी गोठहरू १५ दिनभित्र अनिवार्य रूपमा भत्काउन सबै वडाका वडाध्यक्षहरूलाई निर्देशन दिएको छ। महिनावारी भएका बेला छाउगोठमा सुतेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी दमाईको ज्यान  गएपछि नगरपालीकाले यस्तो निर्देशन जारी गरेको हो । नगरपालिकाले जारी गरेको सूचनामा यदि यो निर्देशन पालना नगरिएमा १०,००० रुपैयाँसम्मको कानुनी जरिवाना हुने उल्लेख गरिएको छ। नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत खगेन्द्र प्रसाद भट्टद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “कृष्णपुर नगरपालिकाभित्र अझै कतिपय वडाहरूमा अवैध रूपमा छाउपडी प्रथा कायम रही गोठहरू यथावत रहेका हुँदा आफ्ना वडा भित्र रहेका छाउपडी गोठको निरीक्षण गरी १५ दिनभित्र भत्काउने कार्य गर्नुहोला।” यस्तो कार्य नगरेमा कानुनी कारबाहीसहित १० हजार रुपैयाँसम्म जरिवाना लाग्न सक्ने चेतावनी पत्रमा दिइएको छ। साथै, गोठ भत्काउने कार्य र कानुनी कार्यान्वयनसम्बन्धी जानकारी सम्बन्धित सरोकारवालालाई पुर्‍याउन पनि निर्देशन दिइएको छ। छाउपडी प्रथा उन्मूलनको अभियान अन्तर्गत नगरपालिकाले यसअघि पनि गोठ भत्काउने कार्यहरू सञ्चालन गर्दै आएको थियो। यो निर्देशन पछि स्थानीय वडाहरुमा गोठ भत्काउने प्रक्रिया थप तीव्र हुने अपेक्षा गरिएको छ।

May be an image of blueprint and text

 

 

प्रकाशित:
2025/07/13, 4:27
SPA
KN
Priya Gahana Pasal