धनगढी– छाउगोठमा बसेकै अवस्थामा कञ्चनपुरको कृष्णपुरमा एक महिलाको ज्यान गएपछि छाउपडी कुप्रथाविरुद्ध आवाज उठ्न थालेको छ ।
कृष्णपुर नगरपालिकाले सबै वडा कार्यालयलाई १५ दिनभित्र छाउगोठ भत्काउन निर्देशन दिएको छ ।
छाउगोठ नभत्काउने व्यक्तिलाई कानूनी कारबाहीसहित १० हजार रुपैयाँ जरीवाना गरिने नगरपालिकाले जनाएको छ । छाउगोठ रहेको वडामा नगरपालिकाले टोली नै खटाएर छाउगोठ भत्काउने तयारी गरेको छ ।
अटेरी गर्नेको सामाजिक सुरक्षा भत्ता रोक्ने र नगरपालिका र वडाबाट प्राप्त सेवा उपलब्ध गराइने तथा त्यस्ता व्यक्तिबाट प्रचलित कानूनअनुसार जरीवाना असूल उपरसमेत गर्ने नगरपालिकाले जनाएको छ ।
छाउपडी कुप्रथा हटाउन यसअघि अभियान चल्ने, समयक्रममा आफैँ हराउने र अन्धविश्वासको परम्परा फेरि ब्युँतिने गरेको छ ।
मुलुकी अपराध संहिताले छाउपडी प्रथालाई भेदभाव तथा अपमानजन्य व्यवहारसम्बन्धी कसूरका रूपमा लिएको छ ।
साथै महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु, गराउन नहुने प्रावधान रहेको छ । तर पनि सुदूरपश्चिमका धेरै ग्रामीण क्षेत्रमा महिनावारी भएका महिलालाई गोठमा राख्ने कुप्रथा कायमै छ ।