काठमाडौं– नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ ।
सञ्चालनअघि गर्नुपर्ने आवश्यक प्राविधिक तयारीअन्तर्गत सुरुङमार्गमा प्रयोग हुने अपरेसनल तथा मेन्टिनेन्स सवारीसाधनको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको हो । परीक्षणका क्रममा सुरुङभित्र नियमित निरीक्षण, मर्मतसम्भार, सरसफाइ, आपत्कालीन उद्धार तथा दुर्घटना व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन र उपकरणको कार्यसम्पादन जाँच गरिएको थियो । सुरुङ सञ्चालनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेसन, विद्युत् आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, सञ्चार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम परीक्षणसमेत भइरहेको छ । जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको यस परियोजनाको कुल लागत करिब २२ अर्ब रुपैयाँ रहेको छ । यसको अधिकांश हिस्सा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ऋणबाट व्यवस्थापन गरिएको हो । सुरुङमार्ग निर्माणको मुख्य जिम्मेवारी जापानी निर्माण कम्पनी हाज्मा–आन्दो कर्पोरेशनले सम्हालेको हो भने परामर्श सेवामा जापानी कम्पनीहरूको संयुक्त संलग्नता रहेको छ ।