सुदूरपश्चिमको पर्यटन चिनाउँदै साइकलयात्री शाह

सुदूर प्रेस संवाददाता

धनगढी–साइकलयात्री भरत विक्रम शाह गतवर्ष साइकलमा बडिमालिका पुगे । उनले ४ हजार २ सय मिटर उचाइमा रहेको बडिमालिका मन्दिरमा साइकल मात्रै पुऱ्याएनन् । यहाँका सुन्दर दृश्यहरुलाई क्यामरामा कैद गरे । युट्युब , टिकटक, फेसबुक र इन्स्टाग्राममा उनले पोस्ट गरेका कतिपय फोटो र भिडियो भाइरल भए । ‘फारवेर्स्टन राइडर’ का नामले चिनिने ४२ वर्षीय शाहलाई सामाजिक संजालमा पछ्याउनेहरूले उनका पोस्ट मात्रै मन पराएनन्, बडिमालिकाका सुन्दर दृश्य हेर्नका लागि आफैं त्यहाँ भ्रम्रण गर्ने इच्छा देखाए । शाहलाई धेरैले त्यहँ यात्रा गर्दा लाग्ने समय, खर्च बाटाको अवस्था आदिबारे जानकारी मागे । थुप्रैले बडिमालिका घुम्ने चाहाना राखेका कारण यहाँको बारेमा थप जानकारी लिन शाहले त्यही वर्ष दुईपटक फरकफरक बाटाबाट बडिमालिका पुगे । उनले इच्छुकहरूलाई यहाँको भ्रमणबारे सूचना दिए । 

त्यही जानकारीको आधारमा थुप्रैले यो क्षेत्रको भ्रमण गरे । शाहको भिडियो हेरेर बडिमालिका पुग्नेमध्येका एक सशस्त्र प्रहरी बलका पूर्वप्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ भन्छन्, ‘उहाँले पोस्ट गरेको भिडियो हेरेर यति रोमाञ्चित भैयो कि, यहाँ नपुगी मनै मानेन । बडिमालिका साँञ्चिकै स्वर्ग रहेछ ।’

साइकल लिएर बडिमालिका पुगेका शाहकै भिडियो र तस्बिर हेरेर श्रेष्ठ मात्रै होइन सयौं व्यक्ति यहाँ पुग्न थाले । सामाजिक सञ्जालभरि बडिमालिकाको चर्चा हुन थाल्यो । यो वर्ष जनैपूर्णिमामा लाग्ने मेलामा अहिलेसम्मकै ठूलो उपस्थिति देखियो । यो अप्रत्याशित उपस्थितिको पछाडि भरतविक्रम शाहको हात भएको बढी मालिकाका मूलपुजारी नेत्रराज पाध्याय विश्लेषण छ । ‘उहाँ जानुभन्दा पहिला बडिमालिका जाने बाटो अप्ठेरो छ । सबैले जान सक्दैनन् भन्ने खालको भ्रम थियो,’ पुजारी पाध्याय भन्छन् ‘शाहजी साइकल लिएर पुगेपछि भने साइकलमा त जान सकिने रहेछ भने हिंडेर किन नसक्नु भन्ने सन्देश गयो । धेरै मान्छेलाई यहाँ पुग्ने साहस जुट्यो ।’

साइकल लिएर बडिमालिका पुगेका शाहकै भिडियो र तस्बिर हेरेर श्रेष्ठ मात्रै होइन सैयौं व्यक्ति यहाँ पुग्न थाले । सामाजिक संजालभरि बडिमालिकाको चर्चा हुन थाल्यो । यो वर्ष जनै पूर्णिमामा लाग्ने मेलामा अहिले सम्मकै ठुलो उपस्थिति देखियो । यो अप्रत्यासित उपस्थितिको पछाडी भरत विक्रम शाहको हात भएको बढी मालिकाका मूलपुजारी नेत्रराज पाध्याय विश्लेषण छ । ‘उहाँ जानुभन्दा पहिला बडिमालिका जाने बाटो अफ्ठ्यारो छ । भीर पहरा छन् । सबैले जान सक्दैनन् भन्ने खालको भ्रम थियो,’ पुजारी पाध्याय भन्छन्, ‘शाहजी साइकल लिएर त्यहाँ पुगेपछि भने साइकलमा त जान सकिने रहेछ भने हिँडेर किन नसक्नु भन्ने सन्देश गयो । धेरै मान्छेलाई यहाँ पुग्ने साहस जुट्यो ।’ शाहको बडिमालिका साइकल यात्रापछि मेलाको बेला मात्रै नभएर अरु समय पनि बडिमालिका पुग्नेहरुको संख्या पहिलाको तुलनामा निकै बढेको उनले बताए । ‘आफ्नै खर्चमा धेरै पटक यहाँ पुगेर उहाँले यहाँको प्रचारमा पुर्‍याएको योगदानको साँच्चै प्रशंसा योग्य छ,’ उनले भने ।

साइकल यात्रामार्फत सुदूरपश्चिम चिनाउने अभियानमा लागेका भरत यस्ता व्यक्ति हुन जसले बडिमालिका जस्ता चिनिएका गन्तव्यलाई प्रवर्द्धन मात्रै गरेका छैनन् । कतिपय लुकेका ठाउँलाई पनि साइकल यात्राको क्रममा उजागर गरेर नयाँ गन्तव्यको रुपमा स्थापित समेत गराइसकेका छन् । त्यही मध्येको एक हो, डोटीको जोरायल गाउँपालिका २, मा पर्ने बुडर झरना । सन २०१८ सम्म भीमदत्त राजमार्ग नजिकै यति सुन्दर झरना छ भन्ने त्यहाँका स्थानीयबाहेक अरुलाई थाहा थिएन । एक स्थानीयले दिएको जानकारीका आधारमा जब भरत त्यहाँ पुगे उनले ड्रोन क्यामराबाट त्यहाँको भिडियो र तस्बिर खिचेर सामाजिक संजालमा पोस्ट गरे । धनगढीबाट नजिक र मुख्य राजमार्गबाट ७ किलो मिटर मात्रै भित्र रहेको यो ठाउँमा उनको भिडियो हेरेर मानिसहरु आउन थाले । ‘पहिला बाहिरको मान्छेलाई यहाँ झरना छ भन्ने पनि थाहा थिएन । भरत यहाँ आएर भिडियो हालेपछि त मान्छेको ओइरो लाग्न थाल्यो,’ बुडरका एकजना होटल व्यवसायी गणेश मल्ल भन्छन्, ‘अचेल त यो झरनाको नाम नै भाइरल झरना भएको छ । यो झरना चिनाउन भरतका ठूलो हात छ ।’

कैलालीको गोदावरी नगरपालिकाका स्थानीय शाह धनगढीबाटै साइकलमा खप्तड, डडेल्धुराको आलिताल, डोटीको बडिकेदार, कञ्चनपुरको शुक्लाफाँटा, दोधारा चाँदनी, लिङ्गा लगायत थुप्रै ठाउँमा धेरै पटक पुगेका छन् । उनी साइकलमा जहाँ पुग्छन् । त्यहाँको विशेषता सहितको जानकारीमूलक फोटो भिडियोहरु संजालमा हालेर अरुलाई पनि त्यहाँ पुग्न उक्साउँछन् । उनलाई सामाजिक संजालमा पछ्याउनेहरु पनि थुप्रै भएका कारण उनी पुगेको गन्तव्य एकाएक चर्चामा आउँछ ।

यसरी सुदूरका गन्तव्यलाई भाइरल बनाउन लागि परेका भरतको विगत पनि उतिकै रोचक र पीडादायी छ । लामो समय वैदेशिक रोजगारीमा बिताएर ११ वर्ष नेपाल फर्केका शाह पक्षघात भएर दुई वर्षसम्म ओच्छयानमा पल्टिए । दिल्लीको एपोलो अस्पतालमा १८ महिनासम्म पनि उपचार गराउँदा ठीक नभए पछि मृत्यु स्विकारेर नेपाल फर्केका थिए उनी । आफ्नै माटोमा प्राण त्याग्ने भनेर । शारीरिक रुपमा निकै दुर्वल भैसकेका भरतको परिवार उनको उपचार गराउँदा आर्थिक रुपमा पनि कमजोर भइसकेको थियो ।

सास छउन्जेल आश भने जस्तै मृत्युको प्रतीक्षामा रहेका उनलाई परिवारका सदस्यले एक दिन स्थानीय वैद्य (धामी)कहाँ पुर्‍याए । धामीको उपचारले उनको जिवनमा चमत्कार हुन थाल्यो । ‘तेत्रो सुविधा सम्पन्न अस्पतालमा निको नभएको रोग ठीक होला भन्ने लागेकै थिएन । म त आफ्नै माटोमा प्राण त्याग्ने दिनको प्रतिक्षामा थिएँ ।’ शाहले विगत सम्झिँदै भने ‘धामीको जडिबुटी र झारफुक पछि विस्तारै सन्चो हुन थाल्यो । शौच गर्दा र खाना खाँदा पनि अरुको सहयोग चाहिने म आफै उठेर हिँड्न सक्ने भएपछि अब त बाँच्छु भन्ने आशा पलायो’ जडिबुटी र झारफुुकले निको भएपछि उनी पक्षघातबाट तङग्रिने उपायहरु युट्युबमा खोज्न थाले । त्यही भेटियो साइकल । साइकल चलाउँदा शरीरका सबै अंगले काम गर्ने थाहा पाएपछि उनी नियमित साइकल चलाउन थाले । साइकलले उनलाई स्वस्थ हुन थप सहयोग गर्‍यो । दोस्रो जुनी पाएकोमा खुशी हुँदै साइकलमा घुम्दै गर्दा उनी अबका दिन कसरी सदुयोग गर्ने भनेर गम्न थाले । ‘मैले त जीवनको आशा मारिसकेको थिएँ । चमत्कार नै भएर दोस्रो जुनी पाँए । यो साइकलले मलाई पहिला जस्तै तन्दुरुस्त बनायो,’ उनी भन्छन् ‘उपहारमा पाएको यो जुनीमा साइकल यात्रा गरेरै सुदूरपश्चिमलाई चिनाउनु पर्छ भन्ने लाग्यो । त्य यता मेरो सबै समय सुदूरका गन्तव्य प्रवर्द्धनकै लागि खर्च गरेको छु । बाँकी जीवन पनि यसै गरी विताउने प्रतीज्ञा छ’

साइकल यात्रा थालेको ८ वर्षको अवधिमा शाहले देशभित्रका मात्रै नभएर भारत, अमेरिका, युरोप, अस्ट्रेलिया, जापान, कोरिया, क्यानाडा लगायत विभिन्न देशका एक सयभन्दा बढी साइकल यात्रीलाई सुदूरपश्चिम घुमाइसकेका छन् । आफ्नै पहलमा ‘टुर दी खप्तड’, ‘सुदुरपश्चिम पर्यटन साइकल यात्रा’, ‘अतरिया कोरा’, ‘टुर दी फारवेस्ट’ आदी नाम दिएर साइकल यात्रा आयोजना गरी सकेका छन् । यस दौरान सैयौं देश विदेशका सैयौं साइकल यात्रीलाई सुदूरपश्चिमका विभिन्न गन्तव्य घुमाइसकेका उनी आफ्नो बाँकी जीवन साइकल यात्रामार्फत सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमै बिताउने बताउँछन् । आफ्नै लगानीमा साइकल यात्रा आयोजना गर्ने कतिपय विदेशी यात्रीलाई महिनौंसम्म आफ्नै घरमा राखेर निशुल्क खानाबास सहयोग गर्ने गरेका शाह यसै बर्ष साइपाल, अपि हिमाल सुर्मा सरोबर क्षेत्रको साइकलयात्रा गर्ने योजनामा छन । तस्बिर र भिडियो खिच्न पनि उतिकै सिपालु ४२ वर्षीय शाहको लक्ष्य यहाँका गन्तव्यलाई विश्वसामु चिनाउने छ । ‘सुदूरपश्चिमका सबै ठाउँ पुगिसकेपछि यहाँका फोटो भिडियो लिएर विश्व साइकल यात्रा गर्ने योजना छ,’ उनले भने, ‘बाहिरबाट आएका पर्यटकहरु कणार्ली पारी नपुगेरै फर्किन्छन् । कर्णाली पारी पनि एउटा सुन्दर संसार छ भनेर विश्वलाई चिनाउनु छ । बाँकी जीवन त्यसैका लागि खर्च गर्नेछु ।’

सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्नका लागि शाहले व्यक्तिगत रुपमा गरिरहेको योगदान निकै नै प्रशंसायोग्य रहेको यहाँका पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् । ‘राज्यले नदेखेका, उपेक्षा गरेका ठाउँमा पुगेर व्यक्तिगत रुपमा उहाँले जसरी पर्यटन प्रर्वद्धन गरिरहनु भयो छ । त्यो कामको जति प्रश‌ंसा गरे पनि कमै हुन्छ । हामीलाई चाहिएको यस्तै मान्छे हो,’ नेपाल पर्यटन बोर्डका पूर्वसदस्य कृण्णबहादुर महराले भने ‘सुदूरपश्चिम चिनाउने सपना बोकेका भरत जस्ता युवालाई राज्य र निजी क्षेत्रबाट पनि सहयोग हुनु आवश्यक छ ।’ कान्तिपुर वाट

प्रकाशित:
2023/09/17, 8:19