काठमाडौँ — भोटेकोशीमा मंगलबार बिहान आएको भीषण बाढीले रसुवागढी नाकामा रहेको नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । त्यस्तै सुख्खा बन्दरगाहमा रहेका नयाँ विद्युतीय गाडी(ईभी) हरू पनि बाढीले बगाएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बाढीले ठूलो क्षति पुर्याएको जानकारी दिए । उनले भने,'चीनतर्फबाट आएको बाढीले ठूलो क्षति पुगेको छ । मितेरी पुल बगाएको छ । ड्राइपोर्टमा रहेका ईभी पनि बगाएको छ ।' उनले भर्खरै बाढीमा फसेका व्यक्तिहरूको उद्धार गरिएको बताए । उनले भने, 'उद्धारका लागि गएका केही सुरक्षाकर्मी पनि फस्नु भएको थियो । उहाँहरूको रेस्क्यु भएको छ ।'
तल्लो बेल्टका स्थानीयलाई सुरक्षित स्थानमा सर्न भनिएको पनि उनले बताए । उनले भने, 'केही मानिस गाडीमै रहेको आशंका गरिएको छ । यद्यपि पुष्टि भएको छैन । गाडीमा रहेकालाई बाढीले बगायो कि भन्ने आशंका छ ।' क्षति ठूलो भए पनि तथ्यांक आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ । उद्धारका लागि सेनाको हेलिकप्टर बोलाइसकिएको पनि उनले बताए । मौसमले साथ नदिँदा हेलिकप्टर आउन ढिला भएको उनको भनाइ छ ।